मृत्यु के हो ?
मृत्यु चाहेर आउँछ कि नचाहेर ?
मृत्यु भुक्ति हो कि मुक्ति हो ? मृत्यु दु:ख हो कि उत्सव हो ? प्रश्न अनेक छन् मान्छेका मनमा र अनेक बनाइन पनि सक्छन् । शाब्दिक अर्थमा मृत्यु मरण, निधन, स्वर्गवास; देहपात, देहवसान; काल, यमराज; विधि; ब्रह्मा; विष्णु; माया; कलि; कामदेव भनिने गरिएको छ र अर्थ परिभाषा कालअनुसार थपघट हुन पनि सक्छ र नहुन पनि सक्छ । मरण साहित्यशास्त्रअनुसार मरणासन्न हुने एक व्यभिचारी शब्द हो भने निधन नाश, विनाश, सखाप, समाप्ति र अन्त हो । निधन हुनु धनहीन हुनु हो, निधन हुनु श्रीहीन वा कान्तिहीन हुनु पनि हो अर्थात् निधन हुनु भनेको दरिद्र हुनु पनि हो । हुन पनि जो सशरीर सकिन्छ वा समाप्त हुन्छ त्योभन्दा दरिद्र, धनहीन अर्को को पो होला ?
गुरू
गुरूत्वबोध ! गुरू गरिमापूर्ण ! गुरू महिमावान् ! गुरू आफैमा एउटा आश्चर्यको आत्मबोधको प्रतीक ।
हो गुरू ठोक्छन्, गुरू चुट्छन्, गुरू पिट्छन्, गुरू बजाउँछन् । कहाँ कहाँ निर्जन जङ्गलमा लगेर फुत्त मिल्काउँछन् । कता कता गहन सागरमा र्पुयाएर हुत्याउँछन् । कहाँ कहाँ अन्जान सगरमा एक्लै निसासिने गरेर उफारिदिन्छन् । गुरूको गुरूत्व कला अपार हुन्छ । पात्र जति निसासियोस्, पात्र जति हतासियोस्, पात्र जतिसुकै उकुसमुकुसियोस् गुरू पटक्कै चिन्ता गर्दैनन् । कारण गुरूलाई बोध छ पात्रको उकुसमुकुसमा नै उसको क्षमता, दक्षता, सीप, सिर्जनाको प्रस्फुटन हुन्छ ।
मृत्यु बोध !
विनयकुमार शर्मा नेपाल
प्रिय
अब म एकदम ठीक छु
झरेको फूलभन्दा पनि हलुका भएको छु
रुवाको त्यान्द्रोभन्दा पनि हलुका भएको छु
तिमी किन त्यसरी रोयौ ?
धत्
मन कति दुखेको होला
चोट कति गढेको होला
तिमीले देखेनौ र ?
हावाको त्यो झोँका
जुन तिम्रो बिलौनाले टुक्रा टुक्रा हुँदै थिए
जुन तिम्रो प्रलापले
कण कण बन्दै थिए
म त कण कण देख्छु
कण कणमा पस्छु ।
प्रिय अब त मौनरहु
मलाई माया गर्ने हे मनहरू
अब त चुप लाग
तिमी आफ्नो रुवाइलाई बुध्दत्वमा बदल
तिमी आफ्नो शक्तिलाई बौध्दिकतामा बदल
तिमी आफ्नो ऊर्जालाई कवित्वमा बदल
म अहिले एकदम ठीक छु
म अहिले विलकुल निष्फिक्री छु
यत्ति बेला एउटा शान्त पुनर्निर्माणको ध्यानमा छु
र यस बेला मलाई कुनै कुरोले घोच्दैन
कुनै सीयोले चुभ्दैन
शत्रु जम्जमाएर जुनसुकै हतियार बोकेर आए पनि
शत्रु फडफडाएर जुनसुकै कुरोको तीखो बाण लिएर आए पनि
उसको घमण्ड
उसको अहङ्कार
धुवाँजस्तै उड्ने छन्
किनकि अब म त्यस्तो छैन
अब म लौकिक छैन
आकासजस्तै पारदर्शी बनिसकेको छु
पानीजस्तै पातलिइसकेको छु
प्रिय यदि मेरो हात हावाको हुन्थ्यो भने
प्रिय यदि मेरो हात वायुजस्तो हुन्थ्यो भने
तिम्रो आँसु अवश्य पुछ्थे
तिम्रो आँखामा चुम्मा खाएर
आँखाको छेद अवश्य बन्द गर्थे
प्रिय तर म धुलो भैसकेँ
हावाको झोँकाभन्दा पातलो भैसकेँ
ऐनाले समेत मेरो रूप समात्न सक्दैन
समुद्रले मात्र आकाश देखाइदिन्छ
मेरो रूप देखाउन सक्दैन ।
प्रिय तिमीले मलाई मृत ठान्यौ ?
प्रिय तिमीले मलाई जड ठान्यौ ?
वास्तवमै मरे तुल्य
तिम्रो लागि बेकारको लागेँ
कुनै घटना घटेन
कुनै दुर्घटना भएन
मात्र परिवर्तनको सानो अनुभव भए
अग्निपरीक्षा पार गरेजस्तो ।
हो, अब मलाई कुनै पीडा छैन
हो, अब मलाई कुनै दर्द छैन
अब मेरो मन पनि त दुख्दैन
मुटु राख्ने ठाउँ पनि त छैन
सबै उदाङ्ग, सबै निर्वाङ्ग
मेरा इन्द्रिय आजकल
जहाँ पुग्छ त्यहीँ रम्दछ
पात देख्दा म पातै बन्दछु
र पातकै सुस्केरामा डुब्दछु
फूलको समीप पुग्दा सुवास नै बनिदिन्छु
पानीमा पुग्दा पानी र आगोमा पुग्दा आगै बनिदिन्छु
अनेकौँ रङमा रङ्गिदा रङ्गिदै
मेरो यो हाल भो !
एउटा कणभन्दा मिहिन
एउटा वाफभन्दा हलुको
एउटा किरणभन्दा गतिमान
एउटा पानीको बूँदभन्दा पारदर्शी ।
हो,
हो, एक विन्दु जलको पनि आफ्नै अस्तित्व हुन्छ
सागरमा पुग्दा म सागरै बनेँ
आकाशमा पुग्दा म आकाशै बनेँ ।
प्रिय अब म ठीक भएँ
अब म स्वस्थ भएँ
ऊ हेर त
तिम्रो यताउता बसेर रोएकाहरू
मेरो अरू थुप्रै वन्धु वान्धव पनि छन्
ओहो ! ती किन त्यसरी रोइरहेका ?
तिनको ममाथि के त्यत्रो प्रेम थियो ?
यो मलाई थाहा थिएन
तर जसले त्यति रुनु पर्थ्यो
ती रोएनन् ।
मेरी प्रिया
अब म एकदम ठीक छु
कुनै रोग छैन
कुनै भोक छैन
कुनै चिन्ता
र
कसैको तिरस्कार छैन ।
‘तेरो माथापच्चीमा केही विचारको, केही शब्दको पुनरावृत्ति छ नि ?’ मलाई एउटा विद्वान् अग्रजले भने ।
हो ! पुनरावृत्ति कहाँ छैन ? केमा छैन पुनरावृत्ति ? मैले मनमनै सोचेँ । ब्रह्माण्डको उत्पत्तिदेखि नै तारा, नक्षत्र र ग्रहहरु घुमेको घुमेकै छन् । सूर्यले ताप र किरण फालेको फालेकै छ । पिण्डहरु चक्कराएको चक्कराएकै छन् ।
रात दोहरिएको दोहरिएकै छ । दिन आएको आयै र गएको गयै छ । ब्रह्माण्डका यावत् तत्व क्षण क्षण रुपान्तर भई नै रहेकाछन् । वस्तुको बन्ने र नासिने क्रम न म रोक्न सक्छु न तपाईं रोक्न सक्नुहुन्छ । तत्व तत्वको जोडले प्रक्रिया र प्रक्रियाले तङ्खवलाई चलयमान बनाएको बनाएकै छ । मान्छेको जन्म र मृत्यु दुवै भोक्ता मान्छेको हातमा र वशमा छैन । अर्को कसैको भरले अर्को कोही जन्मन्छ र मर्छ । मान्छे अर्को वा अरुलाई बन्देज लगाउने प्रयास गर्नसक्छ वा गर्नपुग्छ तर उसको आफ्नो गति र जीवन उसको भरले मात्र चल्दैन । पानी– खोलो, समुद्र, बादल बनेर झरेको झरेकै छ । माटो चट्टान र चट्टान माटोमा परिणत भएको भयै छ । कहाँ छैन पुनरावृत्ति ? केमा छैन पुनरावृत्ति ?
जीव जन्मेको जन्म्यै र मरेको म¥यै छ । रुखले बीज र बीजले रुख बनाएको बनाएकै छ । अन्डाबाट कुखुरा र कुखुराबाट अन्डा बनेको बनेकै छ । मान्छेले मान्छे र बाँदरले बाँदर जन्माएको जन्माएकै छ । श्रीमान् फुत्त कुनै नयाँ बाँदर वा मान्छे, कुखुरो वा हात्ती किन नजन्मिएका होलान्, नझरेका होलान् यसतर्फ सोच्नु भएको छ ? कुकुरले कुकुर वा भँगेरोले भँगेरा जन्माउनु पुनरावृत्ति हो कि होइन ? स्यालले स्याल नजन्माइ सृष्टि संरचनामा पुनः अर्को स्याल जन्मेको इतिहास कहीँ कतै पढ्नुभएको छ के ?
धान उम्रेको उम्रै छ–चामल हामीले खाएको खायै छ । एकपल्ट यसो नजर फिराउनोस् त ! धान, मकै, गहुँ वा कुनै खाद्य एकपल्ट मात्र जन्मेका भए यो संसार कस्तो हुँदो हो ? मान्छे वा जीवको जीवन कस्तो हुँदो हो ? पुर्खाले यो खा त्यो नखा भनेर तोकिदिँदा त तपाई झुक्केर वा हेपेर कतिपल्ट रूग्ण बन्नुभएको छ र तपाईं जस्तै कति हठीहरुले मर्नु परेको छ समयभन्दा पहिले । नित्य नयाँ भए तपाईंको हालत के पो होला ? महाशय के तपाईं आफै मान्छेले मान्छे जन्माउने पुनरावृत्तिको अंश होइन र ? मान्छेले आज गर्व गर्न पाएका यावत् भौतिक वा आध्यात्मिक संरचना, वस्तु वा भाव, सबै सबै स्वास्थ वा विज्ञानका उपलब्धिहरु पुनरावृत्तिकै जोड र कारण होइन र ? यदि मान्छेले मान्छे मात्र अर्थात् चेतनाले चेतना नफैलाएको भए आजको तपाईको सोच पनि विकास हुन्नथ्यो कि ? पृथ्वीका अझै भनौँ ब्रह्माण्डका प्रत्येक तत्व एकपल्ट मात्र हुने थिए–सधैँ नयाँ सबै नयाँ, यावत् मूर्ख र अन्यौलग्रस्त । यो ब्रह्माण्डमा कुन तत्व त्यस्तो छ जुन पुनरावृत्तिको फेरोमा परेको छैन ? अरुका आँखाले देखेका सबै नयाँमा म मात्र देख्छु पुनरावृत्ति । त्यसैले श्रीमान् मलाई प्यारो लाग्छ पुनरावृत्ति ।
नाक वरिष्ठ कि कान वरिष्ठ ? हात वरिष्ठ कि खुट्टो वरिष्ठ ? मुटु वरिष्ठ कि दिमाग वरिष्ठ ? मुख वरिष्ठ कि चाक वरिष्ठ ? के यिनमा कुनै एकलाई मात्र वरिष्ठ मान्न सक्छौँ हामी ? रातो वरिष्ठ कि नीलो वरिष्ठ ? कालो वरिष्ठ कि सेतो वरिष्ठ ? पहेँलो वरिष्ठ कि हरियो वरिष्ठ ? कुनलाई हामी प्रकृतिबाट फेँक्न सक्छौ ? ज्ञान वरिष्ठ कि विज्ञान वरिष्ठ ? जीव वरिष्ठ कि जगत् वरिष्ठ ? न विज्ञान विना ज्ञान जन्मन्छ न ज्ञान विना विज्ञान खुल्छ । न जगत् विना जीव हुन्छ न जीवविना जगत् को सार हुन्छ । यी सबै परस्पर अविछिन्न छन् । यो संसारमा विछिन्न केही छैन, कुनै तत्त्व छैन । सिङ्गो ब्रह्माण्डमा यावत तत्त्व–तत्त्वको परस्पर सम्बन्ध छ– मिलाप छ, चाहे त्यो हामी देखौँ वा नदेखौँ फेरि कुन कनिष्ठ ? एकको अन्त अर्काको अन्त, एकको जन्म अर्काको जन्म अर्थात् एकको अन्त अर्काको जन्म, एकको जन्म अर्काको अन्त । मात्र रुपान्तरको सृष्टि संरचना भित्र को वरिष्ठ को कनिष्ट ? मान्छेमा आजकल होडबाजी छ म ठूलो कि– तँ ठूलो ? म जान्ने कि तँ जान्ने ? प्रकृतिमा कुनै होडबाजी छैन, कुनै हतारो छैन, कुनै सुस्तता छैन तर मान्छे मूर्ख ! कुदिरहन्छ, दौडिरहन्छ, उफ्रिरहन्छ । म श्रेष्ठ, बाँकी सबै अश्रेष्ठ । म जान्ने बाँकी सबै नजान्ने । म बलियो, बाँकी सबै निर्बलियो । म ज्ञानी बाँकी सबै अज्ञानी । मान्छे हरेक क्षेत्रमा आफूलाई ‘सुपरियर’ सबैभन्दा श्रेष्ठ ठानेर आफू घमण्ड वा हीनतामा डुबिरहन चाहन्छ तर मलाई लाग्छ एउटा मान्छेको अस्तित्व यो प्रकृतिको लागि एक गेडो धान–मकै–गहँु भन्दा भिन्न छैन । एउटा फूल, कोपिला र बीजभन्दा ठूलो छैन । एउटा पदार्थ र शक्तिभन्दा महत्त्वको छैन । फेरि को वरिष्ठ ? को कनिष्ठ ? अब भन्नोस् कलाकार वरिष्ठ कि साहित्यकार वरिष्ठ ? वैज्ञानिक वरिष्ठ कि दार्शनिक वरिष्ठ ? आगो वरिष्ठ कि पानी वरिष्ठ ? नारी वरिष्ठ कि पुरूष वरिष्ठ ? बीज वरिष्ठ कि जीव वरिष्ठ ? कसको महत्त्व कसको भन्दा कम छ ? एउटा हात्ती र भुसुनो प्रकृतिको लागि वरावर ! समान ।
आजकल सबै क्षेत्रमा वरिष्ठको लेवल टाँस्ने होडबाजी चलेको छ । वरिष्ठ शब्दको प्रयोग राम्रो कुरो हो तापनि प्रयोगभित्र सदुपयोग र दुरूपयोग टाँसिएको छ । यो प्रश्न एकातिर छ भने अर्कोतिर साहित्यकार वरिष्ठ कि कलाकार वरिष्ठ ? चित्रकार वरिष्ठ कि मूर्तिकार वरिष्ठ ? शिल्पकार वरिष्ठ कि दृश्यकार वरिष्ठ ? यसको खिचातानी आफ्नै छ । अझै हेर्दा स्रष्टा वरिष्ठ कि सिर्जना वरिष्ठ ? कला वरिष्ठ कि कलाकार वरिष्ठ ? यो वरिष्ठ र कनिष्ठ मापनको होडबाजी किन, कसले, के को लागि गरिरहेछन् पाठकले खुट्ट्याउनै पर्छ ।