​Weekly Literature पुनरावृत्ति

पुनरावृत्ति
विनयकुमार शर्मा नेपाल
 
‘तेरो माथापच्चीमा केही विचारको, केही शब्दको पुनरावृत्ति छ नि ?’ मलाई एउटा विद्वान् अग्रजले भने ।
 
हो ! पुनरावृत्ति कहाँ छैन ? केमा छैन पुनरावृत्ति ? मैले मनमनै सोचेँ । ब्रह्माण्डको उत्पत्तिदेखि नै तारा, नक्षत्र र ग्रहहरु घुमेको घुमेकै छन् । सूर्यले ताप र किरण फालेको फालेकै छ । पिण्डहरु चक्कराएको चक्कराएकै छन् ।
 
रात दोहरिएको दोहरिएकै छ । दिन आएको आयै र गएको गयै छ । ब्रह्माण्डका यावत् तत्व क्षण क्षण रुपान्तर भई नै रहेकाछन् । वस्तुको बन्ने र नासिने क्रम न म रोक्न सक्छु न तपाईं रोक्न सक्नुहुन्छ । तत्व तत्वको जोडले प्रक्रिया र प्रक्रियाले तङ्खवलाई चलयमान बनाएको बनाएकै छ । मान्छेको जन्म र मृत्यु दुवै भोक्ता मान्छेको हातमा र वशमा छैन । अर्को कसैको भरले अर्को कोही जन्मन्छ र मर्छ । मान्छे अर्को वा अरुलाई बन्देज लगाउने प्रयास गर्नसक्छ वा गर्नपुग्छ तर उसको आफ्नो गति र जीवन उसको भरले मात्र चल्दैन । पानी– खोलो, समुद्र, बादल बनेर झरेको झरेकै छ । माटो चट्टान र चट्टान माटोमा परिणत भएको भयै छ । कहाँ छैन पुनरावृत्ति ? केमा छैन पुनरावृत्ति ?
 
जीव जन्मेको जन्म्यै र मरेको म¥यै छ । रुखले बीज र बीजले रुख बनाएको बनाएकै छ । अन्डाबाट कुखुरा र कुखुराबाट अन्डा बनेको बनेकै छ । मान्छेले मान्छे र बाँदरले बाँदर जन्माएको जन्माएकै छ । श्रीमान् फुत्त कुनै नयाँ बाँदर वा मान्छे, कुखुरो वा हात्ती किन नजन्मिएका होलान्, नझरेका होलान् यसतर्फ सोच्नु भएको छ ? कुकुरले कुकुर वा भँगेरोले भँगेरा जन्माउनु पुनरावृत्ति हो कि होइन ? स्यालले स्याल नजन्माइ सृष्टि संरचनामा पुनः अर्को स्याल जन्मेको इतिहास कहीँ कतै पढ्नुभएको छ के ?

धान उम्रेको उम्रै छ–चामल हामीले खाएको खायै छ । एकपल्ट यसो नजर फिराउनोस् त ! धान, मकै, गहुँ वा कुनै खाद्य एकपल्ट मात्र जन्मेका भए यो संसार कस्तो हुँदो हो ? मान्छे वा जीवको जीवन कस्तो हुँदो हो ? पुर्खाले यो खा त्यो नखा भनेर तोकिदिँदा त तपाई झुक्केर वा हेपेर कतिपल्ट रूग्ण बन्नुभएको छ र तपाईं जस्तै कति हठीहरुले मर्नु परेको छ समयभन्दा पहिले । नित्य नयाँ भए तपाईंको हालत के पो होला ? महाशय के तपाईं आफै मान्छेले मान्छे जन्माउने पुनरावृत्तिको अंश होइन र ? मान्छेले आज गर्व गर्न पाएका यावत् भौतिक वा आध्यात्मिक संरचना, वस्तु वा भाव, सबै सबै स्वास्थ वा विज्ञानका उपलब्धिहरु पुनरावृत्तिकै जोड र कारण होइन र ? यदि मान्छेले मान्छे मात्र अर्थात् चेतनाले चेतना नफैलाएको भए आजको तपाईको सोच पनि विकास हुन्नथ्यो कि ? पृथ्वीका अझै भनौँ ब्रह्माण्डका प्रत्येक तत्व एकपल्ट मात्र हुने थिए–सधैँ नयाँ सबै नयाँ, यावत् मूर्ख र अन्यौलग्रस्त । यो ब्रह्माण्डमा कुन तत्व त्यस्तो छ जुन पुनरावृत्तिको फेरोमा परेको छैन ? अरुका आँखाले देखेका सबै नयाँमा म मात्र देख्छु पुनरावृत्ति । त्यसैले श्रीमान् मलाई प्यारो लाग्छ पुनरावृत्ति । 
 
कुद्ने पल्टपल्ट कुदेको कुद्यै छ । बोल्ने पल्टपल्ट बोलेको बोल्यै छ । खाने पल्टपल्ट खाएको खायै छ । सुत्ने पल्टपल्ट सुतेको सुत्यै छ । कुनचाहिँ कुरो छ जीवले वा प्रकृतिले पल्टपल्ट नदोहर्याएको ? कुनै ढिलो कुनै चाँडो, यो ढिलो र चाँडो पनि तपाईं हाम्रो मात्र मापदण्ड हो । सृष्टि संरचनाभित्रका प्रत्येक वस्तुको आफ्नै मापदण्ड हुन्छन् । महोदय ! तपाईंका दिमागका चालढाल, चलखेल, जालझेल कहिल्यै बन्द भएका छन् ? दिमाग घुमेको घुम्यै छ, मुटु  चलेको चल्यै छ, फेरि भन्नु होला नि ! मुटु त बन्द पनि हुन्छ । हो ! बन्द हुन्छ मुटु........। मुटु बन्द भएपछि फेरि अर्को पुनरावृत्ति सुरू हुन्छ । तपाईंका शरीर जल्छ, खरानी बन्छ, धुवाँ बन्छ वा गाडिन्छ, सड्छ र फेरि प्रकृतिको पुनरावृत्तिले कुनै तत्वसँग जोडेर कहीँ न कहीँ–कतै न कतै–केही न केही बनाएर अर्को रुपमा रुपान्तर गरिदिन्छ । समय आएको आयै छ, समय गएको गयै छ । तपाईंले आफ्नो घरको भित्ताको घडी हेरेर आफ्नो जीवनकालको कालखण्डमा त्यो घडीको सुईले कतिपल्ट बाह्र वा एक बजायो होला गन्नु भएको छ ? के यो पुनरावृत्तितिर कहिल्यै आँखा गएको छ ?
 
हावा बगेको बग्यै छ । पानी झरेको झर्यै छ । धूलो उडेको उड्यै छ । चट्टान खिइएको खियै छ । प्रत्येक तङ्खव तङ्खव बन्ने, बढ्ने र बिग्रने प्रक्रिया तपाईंले जत्ति बलबुत्ता लगाए पनि बन्द हुन सक्तैन किन ? तपाईंले नयाँ, नवीन वा नौलो भनेका जुनसुकै कुरो, तङ्खव, विचार वा सिद्धान्त यावत पुराना कुनै न कुनै तत्व, वस्तु, सोच वा भावबाट प्रभावित नभई जन्मेको हुन्न । विना आधार न कुनै चीज बन्छ न बिग्रन्छ त्यो देख्नु र नदेख्नु त म जस्ता ठेट्नाको सोच, भाव, विचार, तर्क, बुद्धि र विवेक आदि भित्र सायद नहुन पनि सक्छ र कसैकसै तपाईं जस्ता ज्ञानीमा हुन पनि सक्छ । यो हुनु र नहुनुको खेल पनि विना पुनरावृत्ति सम्भव छैन । के मान्छेको दिमाग सोच बेगर बस्न सक्छ ? के मान्छेको मन वा मस्तिष्क भाव संवेग, आवेग वा उद्वेगबाट प्रभावित नरही रहन सक्छ ? के मान्छेको सोच विना तर्क, विना विचार चुपचाप रहन सक्छ ? के मान्छेको बुद्धि र विवेक दोहोरिइ तेहरिइ फर्किरहेको छैन ? लौ अब भन्नोस् कहाँ छैन, केमा छैन पुनरावृत्ति ?
 
प्रायः विद्वान् भनाउँदाहरु, जाने सुनेर, पढे लेखेर आपूmलाई ठूलो ठान्नेहरु विचारको पुनरावृत्ति, शब्दको पुनरावृत्ति, बोलीको पुनरावृत्तिलाई खिस्याउँछन् र हेलाँ गर्छन्, किन ? मेरो यो फुच्चे दिमागले बुझ्दैन अहँ पटक्कै बुझ्दैन । थाल, कचौरा, गाग्री, ट्याङ्की, जार, डाडु, पन्यौ, कुकर, कसौँडी, ताप्के, कराई, पङ्खा, पानीको फिल्टर, हिटरको क्वाइल, बल्बको फिलाटिन, मेसिनभित्रका रोलर, पाङ्ग्रा र चक्काहरु आदि आदि भौतिक वस्तुहरु मान्छेले किन गोलै बनाएका होलान् ? फेरि भन्नु होला पलङ त लामै छ नि ! डन्डी त लामै छ नि ! हो तपाईंका आँखाले लामो देखे पनि म गोलै देख्छु । म डन्डीमा पनि गोल गोल हुँदै गोलैगोलो फलामका टुक्राहरु जोडिएको देख्छु । पलङको छेउछाउ, यताउति, टाउको पुच्छरतिर गोलै पारेको देख्छु । तीनका मूल अणु र परमाणु गोलै देख्छु । भन्नसक्नु हुन्छ यो मान्छेले जानेर गरेका हुन् वा नजानेर ? जस्तो सुकै चेप्टो वा लामो वस्तुको पनि मुख चाहिँ किन गोलै पार्नु परेको होला यी हाम्रा पुर्खालाई ? मुखमा बिर्को लगाउन किन घुमाउनै परेको होला ? खोल्न पनि किन घुमाउनै परेको होला ? यही हो पुनरावृत्तिको प्रमाण । पुर्खाले न त्यसै गरेका हुन् न पुर्खाले गरेकै कारण हामीले गरेका हौँ, यदि हो भन्ने हो भने पनि फेरि उही पुनरावृत्ति । मान्छेका प्रत्येक पुस्ताले किन बितेका आफ्नो समय नै राम्रो, सुखी, आनन्दित र रमाइलो देखेका होलान् ? कतै तपाईं पनि यसै फेरोमा परेर सन्तानलाई आफ्ना अतीतको गुण गाएर जीवनलाई पुनरावृत्तिमै होमिरहनु भएको त छैन ? त्यसैले श्रीमान् म पुनरावृत्तिमै आनन्दित छु, तपाईं माने मान्नोस् नमाने नमान्नोस् ।
 
हे महाशय ! तपाईं दिनको चारपल्ट किन खानुहुन्छ ? वा पटक पटक किन खाएका कुरा फाल्नु हुन्छ ? दिनदिनै किन मुख धुनु हुन्छ ? दिनदिनै किन स्नान गर्नु हुन्छ ? दिनदिनै किन पूजापाठ गर्नु हुन्छ ? दिनदिनै किन मन्त्र जप्नु हुन्छ ? दिनदिनै किन मन्दिर वा विद्यालय धाउनु हुन्छ ? दिनदिनै किन काममा जानु हुन्छ ? दिनदिनै किन सुत्नु–उठ्नु गर्नु हुन्छ ? दिनदिनै नाच्नु, गाउनु, सुन्नु, सुनाउनु किन गर्नु हुन्छ ? के तपाईंको जीवन पुनरावृत्ति नै पुनरावृत्तिको पुलिन्दा होइन र ? मात्र एक मिनेट पुनरावृत्तिबाट बाहिर बाँचेर देखाउनोस् त ! तपाईं जीवनमा जे बोल्नु हुन्छ, जे खानु हुन्छ, जे गर्नु हुन्छ सबै पुनरावृत्तिकै जोड हो ।
 
अक्षर मानव निर्मित चीज भए पनि त्यसको अस्तित्व अलि बढी काल टिक्ने हुनाले वा नासिए पनि फेरि अर्को अक्षर वा लिपिको फेरोमा मान्छे फस्ने हुनाले वा अ¸क्षर ः क्षर वा क्षय नहुने, ननासिने अर्थ लाग्ने हुनाले सायद हाम्रा पुर्खाले शब्द ब्रह्म भनेका होलान् । तपाईं आफ्ना वर्णमालाका बीस तीस अक्षर जन्मेर जान्ने र सुन्ने भएदेखि नै पढेको पढ्यै, बोलेको बोल्यै, लेखेको लेख्यै हुनुहुन्छ । अक्षर पनि तिनै, शब्द पनि तिनै, वाक्य पनि तिनै । सोच, विचार र चिन्तनमा पनि कसै न कसैको प्रभाव । जन्मेदेखि बाबुबाजेले सिकाएको सिकायै । तर पनि के छ तपाईंसँग नयाँ ? ढोंग, औडाहा, इष्र्या, प्रतिस्पद्र्धा आदि ? बरू होसपूर्वक बाँच्नोस् ! कतै यो ढोंग, औडाहा, इष्र्या, प्रतिस्पद्र्धा पनि पुनरावृत्ति नहोस् । मान्छे दिनरात एउटै एउटै मान्छेलाई बाबु, आमा, लोग्ने, स्वास्नी, दाइ, भाइ, दिदी, बहिनी, छोरा, छोरी, साथी, मित्र, शत्रु आदि आदि भनेर थाक्दैन भने म किन थाकुँ हँ विनसित्ति ? तपाईं यो पुनरावृत्ति छाड्ने हिम्मत राख्नुहुन्छ भने लौ दिनदिनै एउटा पति वा पत्नी फेरेर देखाउनोस् न ! तब म पनि तपाईंलाई साष्टाङ्ग ढोगसहित ब्रह्मै मानिदिउँला । यत्ति मानिदिँदैमा मेरो के जान्छ र ?
 
हा.......हा.......हा.....। यो जीवन वा ब्रह्माण्ड मेरो दृष्टिमा पुनरावृत्तिको एउटा ठूलो पुलिन्दा नै हो । जहाँबाट जे झिके पनि जहाँ जे जोडे पनि पुनरावृत्ति ।
 
हामी एकै ब्रह्माण्ड, एकै पृथ्वी, एकै आकासमा सदिर्यौदेखि जमिरहेछौँ ।
उस्तै सोच, उस्तै विचार, उस्तै सिद्धान्त युगयुगदेखि मानिरहेछौँ ।
उस्तै शासन, उस्तै शैली, उस्तै धटना बरम्बार सुनिरहेछौँ ।
उस्तै अक्षर, उस्तै शब्द, उस्तै वाक्य हजारौँ हजार वर्षदेखि घोकिरहेछौँ ।
उस्तै संस्कार, उस्तै परम्परा, उस्तै नियम वर्षौं वर्षदेखि मानिरहेछौँ ।
 
के तपाईं यस्तो देख्न र भन्नमा जे भने पनि भोग्नमा ताङ्खिवक फरक नभएको पुनरावृत्तिलाई छाड्न सक्नुहुन्छ ?
अझ कुरोमा कुरै गर्दा तपाईंका कपाल, दाह्री, जुँगा जति काट्यो त्यत्ति किन पलाएका होलान् ? तपाईंलाई घाउ खत लागेर छाला उप्कँदा फेरि किन भरिएका होलान् ? तपाईंका शरीरका नसाका रगतहरु किन कामै नपाए झैँ शरीरभरि घुमिरहेका होलान् ? चराचुरूङ्गी वा जन्तु जनावर किन फर्किफर्की आफ्नो खोर वा गुँडमा गइरहेका होलान् ? फेरि भोलिपल्टै आहारा खोज्न वा सिकार गर्न किन खोर वा गुँडबाट बाहिरतिर कुदेका होलान् ? हुरी किन दोहरी तेहरी आएको होला ? पानी किन पल्टपल्ट बर्सेको होला ? आगो किन बल्झिबल्झी दन्केको होला ? तपाईंको फोन किन बारम्बार बजेको होला ? कामै नपाए जस्तो गरी लगातार पृथ्वी किन घुमेको होला ? तपाईं ‘आँ’ गर्नोस् वा ‘इ’ भन्नोस्, ‘ऊँ’ कन्नोस्, ‘ऐ’ गर्नोस् वा ‘ओ’ पढ्नोस् सबै गोलोको गोलै । के यो भन्दा सरल र गहन अर्को प्रमाण चाहिन्छ र ब्रह्माण्ड वा ब्रह्माण्डका साराका सारा तत्व गोलो छ भन्न ? गोलो अर्थात् वृत्त । वृत्त र गोलो नै पुनरावृत्तिको सार हो, सङ्केत हो, अक्षर हो र चिह्न हो । यो ब्रह्माण्ड तपाईं मैले माने पनि नमाने पनि गोलो नै गोलोको जोड हो । तपाईं हामीले देखेका जुनसुकै लामो वा च्याप्टो वा थेप्चो चीजलाई आँखाले भ्याएसम्मको टुक्राटुक्रा पारेर हेर्नोस् त । गोलैगोलोको जोड हो अग्लो, लामो, चुच्चे र कुने वस्तुहरु पनि । जड वा सूत्र गोलो हो भने गोलाई
पुनरावृत्तिको प्रतीक केही भन्नु छ तपाईंलाई ?
 
हरेक जीवको टाउको गोलो । भुँडी गोलो । सबै जीवको मुख गोलो, आँखा गोलो । आन्द्रा र नसा समूलमा लामो देखिए पनि त्यसको शैली गोलो । आलु गोलो, मूला गोलो । मूला कसरी गोलो भन्नु होला ! छ्याकछ्याक काटेर हेर्नुहोस् न । रुखको छहारी गोलो त्यसले बसेको क्षेत्र गोलो, हरेक वनस्पतिको बीज गोलो, ब्रह्माण्ड गोलो, त्यसमा रहेको पिण्ड गोलो । यो ब्रह्माण्डमा उब्जिएका सबै चीज गोलो । यहाँ गोलोको यत्रो विस्तृत व्याख्या किन हँ भन्नु होला ! गोलो अर्थात् पुनरावृत्तिको प्रमाण हो गोलाई । अणु परमाणु तत्व तत्व सबै गोलो अर्थात् पुनरावृत्ति । त्यसैले म पुनरावृत्तिको भक्त, अरु केही भन्नु छ तपाईंलाई ? 
चाबेल, काठमाडौँ