Weekly Literature


को वरिष्ठ को कनिष्ठ ?
विनयकुमार शर्मा नेपाल

                को वरिष्ठ ? को कनिष्ठ ?
                उत्तर जटिल छ ! के ले ? नामले ? पदले ? कामले ? ज्ञानले ? यदि अग्लाई, मोटाई वरिष्ठ र कनिष्ठको नाप गर्ने मापदण्ड हो भने म के भनुँ मान्छेभन्दा हात्ती ठूलो भन्नेहरुलाई ? यदि श्रेष्ठ उत्कृष्ठ वा ‘ सिनियारिटी’को अर्थलाई वरिष्ठसँग जोड्ने हो भने पनि यो संसारमा प्राप्त हुने सबै तत्त्व–तत्त्वको आफ्नै मौलिकपन र महत्त्वव छ फेरि कुन वरिष्ठ ? कुन कनिष्ठ ? सात अरब मान्छेका मनका भाव, औँलाका छाप, अनुहार नमिले जस्तै उल्टापाल्टा हो यो मापदण्ड । अब भन्नोस् कुन र को श्रेष्ठ कुन र को उत्कृष्ठ ? यदि उमेर वा दिनलाई हद मान्ने हो भने पनि कनिष्ठको जोस वरिष्ठमा हुन्न र वरिष्ठको अनुभव कनिष्ठमा हुन्न, फेरि कुन कताबाट वरिष्ठ ? यदि ज्ञान यसको नाप्ने मापदण्ड हो भने पनि प्रमाणपत्रको कि ? अनुभवको ? दुईचार हजारमा बिक्ने वा दुईचारदिनको घोकाइको प्रमाणपत्र मापदण्ड मान्ने कति होलान् यहाँ ? अनि अनुभव जोख्ने, भर्ने, नाप्ने, हेर्ने यन्त्र के हो ? यदि हाम्रो मन वा मस्तिष्क मात्र हो भने फेरि किन औडाहा ? किन ‘कम्पिटिसन’ ?
                नाक वरिष्ठ कि कान वरिष्ठ ? हात वरिष्ठ कि खुट्टो वरिष्ठ ? मुटु वरिष्ठ कि दिमाग वरिष्ठ ? मुख वरिष्ठ कि चाक वरिष्ठ ? के यिनमा कुनै एकलाई मात्र वरिष्ठ मान्न सक्छौँ हामी ? रातो वरिष्ठ कि नीलो वरिष्ठ ? कालो वरिष्ठ कि सेतो वरिष्ठ ? पहेँलो वरिष्ठ कि हरियो वरिष्ठ ? कुनलाई हामी प्रकृतिबाट फेँक्न सक्छौ ? ज्ञान वरिष्ठ कि विज्ञान वरिष्ठ ? जीव वरिष्ठ कि जगत् वरिष्ठ ? न विज्ञान विना ज्ञान जन्मन्छ न ज्ञान विना विज्ञान खुल्छ । न जगत् विना जीव हुन्छ न जीवविना जगत् को सार हुन्छ । यी सबै परस्पर अविछिन्न छन् । यो संसारमा विछिन्न केही छैन, कुनै तत्त्व छैन । सिङ्गो ब्रह्माण्डमा यावत तत्त्व–तत्त्वको परस्पर सम्बन्ध छ– मिलाप छ, चाहे त्यो हामी देखौँ वा नदेखौँ फेरि कुन कनिष्ठ ? एकको अन्त अर्काको अन्त, एकको जन्म अर्काको जन्म अर्थात् एकको अन्त अर्काको जन्म, एकको जन्म अर्काको अन्त । मात्र रुपान्तरको सृष्टि संरचना भित्र को वरिष्ठ को कनिष्ट ? मान्छेमा आजकल होडबाजी छ म ठूलो कि– तँ ठूलो ? म जान्ने कि तँ जान्ने ? प्रकृतिमा कुनै होडबाजी छैन, कुनै हतारो छैन, कुनै सुस्तता छैन तर मान्छे मूर्ख ! कुदिरहन्छ, दौडिरहन्छ, उफ्रिरहन्छ । म श्रेष्ठ, बाँकी सबै अश्रेष्ठ । म जान्ने बाँकी सबै नजान्ने । म बलियो, बाँकी सबै निर्बलियो । म ज्ञानी बाँकी सबै अज्ञानी । मान्छे हरेक क्षेत्रमा आफूलाई ‘सुपरियर’ सबैभन्दा श्रेष्ठ ठानेर आफू घमण्ड वा हीनतामा डुबिरहन चाहन्छ तर मलाई लाग्छ एउटा मान्छेको अस्तित्व यो प्रकृतिको लागि एक गेडो धान–मकै–गहँु भन्दा भिन्न छैन । एउटा फूल, कोपिला र बीजभन्दा ठूलो छैन । एउटा पदार्थ र शक्तिभन्दा महत्त्वको छैन । फेरि को वरिष्ठ ? को कनिष्ठ ? अब भन्नोस् कलाकार वरिष्ठ कि साहित्यकार वरिष्ठ ? वैज्ञानिक वरिष्ठ कि दार्शनिक वरिष्ठ ? आगो वरिष्ठ कि पानी वरिष्ठ ? नारी वरिष्ठ कि पुरूष वरिष्ठ ? बीज वरिष्ठ कि जीव वरिष्ठ ? कसको महत्त्व कसको भन्दा कम छ ? एउटा हात्ती र भुसुनो प्रकृतिको लागि वरावर ! समान ।
                आजकल सबै क्षेत्रमा वरिष्ठको लेवल टाँस्ने होडबाजी चलेको छ । वरिष्ठ शब्दको प्रयोग राम्रो कुरो हो तापनि प्रयोगभित्र सदुपयोग र दुरूपयोग टाँसिएको छ । यो प्रश्न एकातिर छ भने अर्कोतिर साहित्यकार वरिष्ठ कि कलाकार वरिष्ठ ? चित्रकार वरिष्ठ कि मूर्तिकार वरिष्ठ ? शिल्पकार वरिष्ठ कि दृश्यकार वरिष्ठ ? यसको खिचातानी आफ्नै छ । अझै हेर्दा स्रष्टा वरिष्ठ कि सिर्जना वरिष्ठ ? कला वरिष्ठ कि कलाकार वरिष्ठ ? यो वरिष्ठ र कनिष्ठ मापनको होडबाजी किन, कसले, के को लागि गरिरहेछन् पाठकले खुट्ट्याउनै पर्छ ।
                खासगरी साहित्य क्षेत्रबाट आरम्भ भएको वरिष्ठको घन्को कलाकर्मी, शिल्पकर्मी, प्रवचनकर्ता हुँदै सुजिकारदेखि कुचिकारसम्म पुगेको छ । व्यापारीदेखि उत्पादकसम्म पुगेको छ । वरिष्ठता र कनिष्ठताको सबैभन्दा धेरै प्रयोग साहित्य क्षेत्रमा हुन गएको भेटिन्छ । साहित्यको कुन विधा वरिष्ठ ? काव्य, निबन्ध, नाटक, उपन्यास, इतिहास हुँदै हँुदै तिनका सिर्जनासम्म यसको फेरो सल्किएको छ । के हामी खुट्ट्याउन सक्छौ ? कथाकार वरिष्ठ कि उपन्यासकार वरिष्ठ ? निबन्धकार वरिष्ठ कि नाटककार वरिष्ठ ? कवि वरिष्ठ कि महाकाव्यकार वरिष्ठ ? गजलकार वरिष्ठ कि नाटककार वरिष्ठ ? मुक्तककार वरिष्ठ कि टिप्पणीकार वरिष्ठ, स्रष्टा वरिष्ठ कि द्रष्टा वरिष्ठ ? चुनाव कठिन छ र जटिल पनि छ । चुनाव कठिनाइको स्रोत पनि हो । अब हेर्नुहोस्न चुनावको फेरोमा पर्‍यो कि मस्तिष्क सलबलाउँछ, विचार गर्छ, जालझेल गर्छ । अनेक नौटङ्की तिकडम मच्चाएर दिमागबाट निस्केको निर्णय दिलको निर्णय हुनै सक्तैन । मान्ने मानिरहुन् तर म मान्न सक्तिनँ चुनाव हुनुपर्छ दिलमा, आत्मामा । सच्चा, निस्वार्थ, निष्पक्ष निर्णय दिमागबाट निस्केको चलखेल, जालझेलको निर्णयभन्दा कयौँ गुना आल्हादित हुन्छ ।
                स्वस्फूर्त, विना दवाब, विना स्वार्थ, विना विचार निस्केको निर्णयमा सच्चा मनको सच्चा भाव लुकेको हुन्छ । चुनावको आरम्भ भयो कि मनमा, दिमागमा चलखेल सुरू हुन्छ । दिमागको चलखेलको मापनबाट निस्केको निर्णय चिरस्याथी हुन सक्तैन । न त दिमागले सोची विचारी गरेको निर्णय अपरिवर्तनीय हुनसक्छ । यो मेरो ठोकुवा हो, लोकतन्त्रको जमानामा यस्तो तानाशाहीपन ? अडान र अडानको एकाग्रता वा एकोहोरो पन पनि त एक किसिमको तानाशाहीपन नै हो । त कहाँ छ लोकतन्त्र ? कुनै घर, कुन परिवार, कुन देश, कुन मान्छेमा छ लोकतन्त्र ? कसको मनमा, कसको व्यावहारमा छैन तानाशाहीपन ? सब देखौवा.... ? नौटङ्की नाटकको दृश्यजस्तो ।
                राम–कृष्णदेखि क्राइष्ट र बुद्धसम्म, सोक्रोटियसदेखि रसेलसम्म, कन्फ्यूसियसदेखि लाओत्सेसम्म, अलेकजेन्डरदेखि बुससम्म, कोपरनिक्सदेखि आइस्टाइनसम्म, होमरदेखि मिल्टनसम्म, बाल्मीकिदेखि देवकोटासम्म, माक्र्सदेखि माओसम्म ओवामादेखि लादेनसम्म, अझै भन्ने हो भने घर–घरका बाबुआमासम्म कसले तानाशाहीपन देखाएन ? यो सृष्टिमा जन्मने कुन मान्छेमा छैन तानाशाहीपन ? छोराछोरी वा आफूभन्दा तलका कर्मचारीलाई बोल्न नदिने सबका सब तानाशाह । अर्काका कुरो नसुन्ने आफ्नै मात्र भट्याउने सबका सब तानाशाह । कसैले आफ्नो विचार लाद्न बन्दुक ठोके, कसैले कलम । कसैले आफ्नो कुरो भनाउन जाल गरे, कसैले आफ्नो कुरो ठीक भनाउन घर त्यागे, कसैले देश । जसको पहुँचमा जे छ त्यही ठोके–त्यही गरे । कोही कोठे तानाशाह कोही मुलुके तानाशाह ! फरक मात्र आयामको हो ...., क्षेत्रको हो..., उपलब्ध वस्तुको हो... पन त तानाशाही नै हो... ।
                मान्छेको मस्तिष्क बेला बेलामा भौंतारिन्छ । ‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भनेको यही हो । कहाँ सोच्दै थिएँ वरिष्ठ र कनिष्ठको कुरो कहाँ पुगिएछ तानाशाहको इतिहासमा । सोच न हो ? पुगिरहोस् जहाँ जहाँ पुग्छ ।
                यहाँ सबैलाई श्रेष्ठ हुनु परेको छ, उत्कृष्ट बन्नु परेको छ । वरिष्ठ भनाउनु परेको छ । कोही आफूलाई कनिष्ठ भनाउन चाहँदैन यो वरिष्ठ र कनिष्ठको चहलपहल नेपाली साहित्य वृत्तमा खुबै बढेको छ । अलिअलि सङ्गीतकार, चित्रकार, कलाकार, समाजसेवा हुँदै व्यावसायीसम्म नाचेको छ । अरूले भनोस् कि नभनोस् आफैँ मपाई भन्न सिपालु छन् साहित्यसेवीहरु । फलानो लेखकलाई फलानो प्रकाशकले वरिष्ठ ठोकिदिएछ, नठोकोस् पनि कसरी ? आफ्नै लेखनको खेस्रो न ठहरियो । फलानो महोदयको पुस्तक स्वास्नीले छापिदिएको रे ! फलानो महोदयले आफैँलँ खर्च गरेर नाम चलेको प्रतिष्ठानको नाम राखेको रे ! फलानोको त प्रकाशक पनि दलाल मात्र हो रे ! खर्चबर्च, ह्यानत्यान सबै लेखक महोदयको रे ! विमोचन कार्यक्रमको हर्ताकर्ता, खर्चकर्ता, निम्तार्थी सबै फलानो लेखक महोदय । भाटबन्दी, तुकबन्दी र ताली ठोक्ने चाकडी बाजहरु । आफैँ वरिष्ठ, आफैँ मपाइँ, रोक्ने कसले ? आफ्नै पक्षका, आफ्नै धारका, आफ्नै घरका, आफ्नै वर्गका दुईचार समीक्षकले मञ्चमा वरिष्ठ भनिदिएपछि लेखक महोदयको फुलेको नाक हेर्न लायक ।
                चर्चा–परिचर्चा, अन्तरक्रिया–प्रतिक्रिया, सबका सबको आयोजक, प्रायोजक लेखक महोदय, भागलिने सबै भाटहरु, वर्गीय भाट । दुईचार भाटहरुबाट वरिष्ठताको उद्घोष, गुणैगुण–सर्वगुण सम्पन्न कृति । सुन्ने हेर्ने सबै मूर्ख पण्डित, सिकारू....! अनुकारणको अनुयायी मान्छे । सृष्टिको संरचना वृत्त, गोलो... पालैपालो... । वरिष्ठ र कनिष्ठको खेल......पैसा, नातावाद र वर्गवादको मेल ।
                आलेख लेखनमा पनि वरिष्ठ र कनिष्ठको फेरोले छाडेको छैन । आशीर्वादका लागि वा कृतिका गुणावगुणको लागि आलेख लेखाउने परम्परामा वरिष्टताको फेरो । दुईचार जना वरिष्ठ बनाइएकाहरुको शब्द उद्धरण गरेर जिल्दमा राखे खुद आफू वरिष्ठ हुन पाइने लोभ । वर्गीय खिचातानी–गोल सम्मेलन, दुई चार जना मिली फलानो कृति राम्रो भने राम्रो भइने वा वरिष्ठमा दर्ता हुन पाइने लोभ । सुझ न बुझ ‘फलानो जस्तो कृति अर्को छँदै छैन’ वा ‘यो अलिकति यस मानेमा फरक छ ।’ भनिदिएँ के जान्छ र वरिष्ठ महोदयको ? दुईचार दिनको चाकडी–दुईचार हजारको रेलो नभन्नु पनि कसरी ? मुखै सामु तेरो राम्रो छैन कसरी भन्नु ? भूमिका छापिने लोभ–नराम्रो भनिदिए भूमिका लेखाउनेले भूमिका किन लेखाओस् ? वा किन छापोस् ? आलेख लेखनमा पनि वरिष्ठ र कनिष्ठको चक्रवृत्ति–आखिर संसार र संसारका यावत कुरो गोलो न छ ?
                यो वरिष्ठ र कनिष्ठको फेरोले मेरो दिमाग चरचरी खाइरहेछ, हल्लाइरहेछ । को वरिष्ठ ? को कनिष्ठ ? खुट्ट्याउन कठिन भइरहेछ । कथाकार आफैँमा कथाकार हो, न कि वरिष्ठ कथाकार । त्यस्तै गीतकार, निबन्धकार, नाटककार, उपन्यासकार, समालोचक वा कवि । कविको आफ्नै गरिमा छ र आफ्नै महिमा । कवि स्रष्टा हो, प्रकृति हो, ब्रह्म हो, सर्जक हो, कवि कवि मात्र हो उसलाई वरिष्ठ पुच्छर लगाउनु उपबुज्रुग्याइँ हो । कवि आफैँमा सम्मानित शब्द हो, अलंकारयुक्त महत्त्वपूर्ण शब्द हो । उसलाई पुच्छे चङ्गामा पुच्छर थपेजस्तो वरिष्ठताको पुच्छर लगाउनु, मूर्खता प्रदर्शन गर्नु हो । त्यसैले त होला देवकोटाले ‘म नै तीन मासाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु भनेका । बुद्धिहीनको नाम बुद्धिबहादुर, अन्धोको नेत्रलाल, अज्ञानीको ज्ञानबहादुर राखे जस्तै पत्रकार, व्यवसायी वा कविलाई वरिष्ठ बनाइएको हो भने पनि व्यङ्ग्यार्थको कुरो नबुझ्ने शठ कसरी पत्रकार, व्यवसायी वा कवि ? प्रश्न जटिल छ– उत्तर हामीहरु बीच झन् जटिल बनेका होलान् । जसरी कविलाई वरिष्ठ र कनिष्ठको अलङ्कार भद्दा हुन्छ, त्यसैगरी निबन्धकार, उपन्यासकार, गीतकार, कथाकार, समालोचक, व्यवसायिक वा पत्रकारलाई यो वरिष्ठताको पुच्छरले गिज्याए जस्तै लाग्छ मलाई.... ।
                स्रष्टा वा द्रष्टालाई विना सुझबुझ वरिष्ठ बनाइदिने स्रष्टाको अन्तरतलमा कताकता आफूलाई वरिष्ठ भनाउने लोभले गाँजेको हुनसक्छ अथवा उसको अन्तरतलमा नाम–पद–पैसाको स्वार्थ हुनसक्छ । राम्रो भन्ने र भनाउने–नराम्रो भन्ने र भनाउने खेलमा यो वरिष्ठता र कनिष्ठताको लहर चलेको हुनसक्छ भने यसमा विचार पु¥याउनै पर्छ । वरिष्ठ र कनिष्ठ जाच्ने, जोख्ने एउटा कममाकम नियम–विधि–विधान बन्नुपर्छ र बन्नुपर्छ यन्त्र । नत्र आफ्नै पक्षघर, वर्गधर, चेलाचपेटा, समर्थक, लेखक र प्रकाशक बटुलेर आफैँले वा आफ्नै वर्गद्वारा खर्च गरेर आयोजन गरिने कार्यक्रम, आफैँले लेखेर बाँडिने निमन्त्रणा कार्ड अनि चर्चा, परिचर्चा, अन्तरक्रिया, प्रतिक्रिया, विमोचनका कार्यक्रममा भनिएको वा भनाइएको यो छेउ न टुप्पोको अलङ्कारको पुच्छर त्याग्न सक्नुपर्छ सच्चा स्रष्टाले........... होइन र ? ...