गुरु

                   गुरु
                    विनयकुमार शर्मा नेपाल

गुरू गुरूत्वबोध ! गुरू गरिमापूर्ण ! गुरू महिमावान् ! गुरू आफैमा एउटा आश्चर्यको आत्मबोधको प्रतीक । 
हो गुरू ठोक्छन्, गुरू चुट्छन्, गुरू पिट्छन्, गुरू बजाउँछन् । कहाँ कहाँ निर्जन जङ्गलमा लगेर फुत्त मिल्काउँछन् । कता कता गहन सागरमा र्पुयाएर हुत्याउँछन् । कहाँ कहाँ अन्जान सगरमा एक्लै निसासिने गरेर उफारिदिन्छन् । गुरूको गुरूत्व कला अपार हुन्छ । पात्र जति निसासियोस्, पात्र जति हतासियोस्, पात्र जतिसुकै उकुसमुकुसियोस् गुरू पटक्कै चिन्ता गर्दैनन् । कारण गुरूलाई बोध छ पात्रको उकुसमुकुसमा नै उसको क्षमता, दक्षता, सीप, सिर्जनाको प्रस्फुटन हुन्छ । 

गुरू अनेकौँ अनेक शैलीले प्रेरणा दिन्छन्, अनेकौँ अनेक कुराको तर्क र दर्शनको माध्यमबाट उत्साह दिन्छन् । अनगिन्ती कथा, घटना र परिवेशका उदाहरण दिएर जागरूक बनाउँछन् र जागरण फैलाउँछन् । अनेकौँ अनेक सुख, खुसी र आनन्द दिलाएर पात्रलाई जगाउँछन् । कहिले घोर आश्चर्य चकित उदाहरण दिएर र स्वयं पात्रलाई प्रयोग गराएर आकाशमा र्पुयाउँछन् र एक्कासी छाडिदिन्छन् त कहिले समस्यै समस्याको घोर पातालमा घचेटेर गहन अन्धकारमा खसालिदिन्छन् । पात्र आतिन्छ, छटपटिन्छ र बेला बेला मृत्युको समेत बोध गर्न थाल्दछ, तर गुरू पात्रको त्यो अत्याई र उकुसमुकुसमा रत्तीभर चिन्ता गर्दैनन् । गुरूप्रति शङ्का, रिस र आवेग समेत पोख्ने अवस्थामा पात्रलाई र्पुयाएर पनि गुरू थाक्दैनन्, हार्दैनन् तर पात्रको यो चिन्तित अवस्थाबाट गुरूको गुरूबोध भने पर पटक्कै हुन्न ।

गुरू झार्छन्, गुरू झोस्छन्, गुरू पोल्छन् । नामोनिसान शून्य पनि पारदिन्छन् गुरू पात्रको । सोच्नै नसकिने समस्या र डरलाग्दो भयानक अवस्था सिर्जना गरेर वा अगाडि ल्याएर गुरू पात्रको अस्तित्वबोध गराउँछन् र त्यस समस्याबाट बाहिर निस्कने उपायको ज्ञान पहिल्यै दिलाउँछन् । गुरू पात्रलाई आरनको आगोभन्दा तातो रापमा एक्कासी झोस्छन्, चिसो हिउँजस्तो स्थानमा र्पुयाएर अचानक तप्त ज्वालामा पोल्छन् तर पनि गुरू दया गर्दैनन्, माया गर्दैनन्, निष्ठुरी बन्छन् । यो निष्ठुरी पनको गुरूत्वबोधबाट गुरू पात्रलाई अँगालिरहन्छन् । निर्दयता, निष्ठुरताबाट गुरू पात्रलाई क्रोध, 
रिस, इबीजस्ता अवगुण जाँच्छन् र त्यसलाई पात्रको मनमा बोध गराई त्यसको पनि बोध घुसाइदिन्छन् ।

गुरू पात्रको अल्छीपन, निस्क्रियता र बहानाबाजीको बोध पनि गर्छन् र पात्रलाई सही समय, सत्यता, सौन्दर्य, बुद्धि, विवेक, ज्ञान, ध्यान, र विचार आदिबाट उचाल्ने र पछार्ने गरेर व्यवहारवादी बनाउन अनेक शैली र तरिका पनि अपनाउँछन् । गुरू पात्रको खास गुण अर्थात् विशिष्टताको पहिचान गर्न माहिर हुन्छन् । गुरूको क्रोधभित्र समेत प्रेमको नदी बगेको हुन्छ । गुरूको रिसमा दया, कल्याण र करूणा भिजेको हुन्छ । गुरूको इबिभित्र पात्रको सफलता लुकेको हुन्छ । आलस्यता गुरूको शत्रु हुने हुनाले गुरू पहिलो परीक्षा त्यसैको लिन्छन् । सङ्कल्प, जागरण, इच्छाशक्ति, निरन्तरता, बोध र होस, इमानदारिता र निर्भीकतातर्फ गुरूको परीक्षणको पाइला बढ्दै जान्छ ।

गुरू पात्रको बोलीको नैतिकता, आचरण र स्वभावमा सबैभन्दा धेरै ध्यान राख्छन् । पात्रको प्रत्येक क्षण, प्रत्येक शब्द, प्रत्येक बोली र हरेक हाउभाउमा गुरूको दृष्टि हुन्छ ता कि गुरू आफपात्रको स्वभावलाई बुझेर त्यसलाई पात्रको क्षमता र दक्षता अनुसारको विषयमा पारङ्गत पार्न सकियोस् । गुरू पात्रबाट मात्र सच्चाइको आशाा राख्छन्, पात्रमा चाहे जस्तोसुकै कठिन परिस्थिति आओस् वा कठिनभन्दा कठिन समस्याको समयमा कठिनभन्दा कठिन पीडा र चिन्ताको समयमा वा प्रेम र घृणाले मन उकुसमुकुस भएको बेला पनि गुरू चाहन्छन् पात्र सत्य मात्र बोलोस्, सत्य मात्र बुझोस् र ज्ञानको सत्य मार्ग मात्र हिँडिरहोस् । 

सत्य सत्य हो जुनको परिवर्तन कुनै पात्र गर्न सक्तैन त्यसको छाया बनेर गुरू यथार्थताको बोध निरन्तर पात्रमा पोखिरहन्छन् । गुरूत्व गुण सृष्टिको प्रत्येक तङ्खवमा छ भन्ने बोध गुरूलाई हुन्छ । मरूभूमिमा वालुवा पेलेर पानी  निकाले झैँ गुरू प्रत्येक शब्द, भाव र तङ्खवमा रहेको राम्रा नराम्रा कुरालाई छानेर, निफनेर पात्र सुहाउँदो, पात्र अनुकूल गुरूत्व गुण देखाउन र बुझाउन सक्षम हुन्छन् । 

जुनसुकै वा जस्तोसुकै ख्ाालको अर्थात् जन्म गुरू- जननी पनि गुरू नै हुन्, पालन गुरू अर्थात्  पालनकर्ता पनि गुरू नै हुन्, कर्म गुरू- काम, वृत्ति वा पेसा दिने पनि गुरू नै हुन्, शिक्षा वा मन्त्र गुरू- अर्थात्  ज्ञान, बुद्धि, शिक्षा र उपदेश दिने पनि गुरू नै हुन्, वास्तवमा प्रकृति र प्रकृतिका यावत् तङ्खव आफैमा एक किसिमका गुरू हुन् ।

पात्र अनेक थरीका आउँछन् र जान्छन्, यो नित्य क्रममा सच्चा गुरू रौँ जति पनि हतास र निरास भएर थाक्दैनन् । महाकवि देवकोटाले शाकुन्तल महाकाव्यलाई पाँच जनाले बुझे पुग्छ भनेजस्तो गर्व प्रत्येक गुरूमा विद्यमान हुन्छ वा हुनुपर्छ, कारण - हजार नबुझ्ने वा कुपात्र हुनुभन्दा एउटै विवेकशील योग्य शिष्य गुरूको लागि लाख हुन्छ सही र सत्य विचार फैलाउनका लागि । एक विन्दु जागरण काफी हुन्छ भन्ने कुराको बोध नहुने व्यक्ति कहिल्यै सच्चा गुरू हुन सक्तैन । अरुलाई अनेकानेक चरित्रका, सिद्धान्तका उपदेश दिने गुरूले आफैँमा ती कुरा लागु गरेका छन् कि छैनन्  यो कुराको चासो सदैव पात्रहरुलाई पनि भइरहन्छ । सच्चा गुरूको वास्तविक परीक्षा भनेकै शिष्य हुन् । यो कुराको ख्याल हरक्षण गुरूलाई पनि भइरहन्छ । 

पात्रलाई पात्र अनुकूल आफ्नो दक्षता देखाउन सक्ने बनाएर गुरू आफैमा गर्वित हुन सक्नुपर्दछ । पात्र स्वयंमा योग्य हुन्छन् मात्र पात्रले अनुभव र ज्ञानको कमीको कारण आफभत्र रहेको क्षमता प्रदर्शन गर्न सकेका हुँदैनन् । गुरूले पात्रभित्र रहेको क्षमतालाई विभिन्न तरिकाले उजागार लायक बनाइदिनु पर्छ भन्ने कुरामा गुरू सदैव सचेत रहन्छन् । पात्रको दृष्टिमा गुरू आस्थाको धरोहर बन्न सक्नुपर्छ भन्ने ज्ञान वास्तविक गुरूलाई बोध रहिरहन्छ भने पात्रले पनि गुरूलाई आफ्नो आस्थाको केन्द्र बनाउन सक्नुपर्छ ।

गुरू आफैमा बोधको पराकाष्टा हुने हुनाले पात्रको राम्रा नराम्रा प्रत्येक हाउभाउ र उसका हरेक गतिविधिमा गुरूको अन्तरमन मुस्कुराइ नै रहेको हुन्छ । चोर, डाँका, उपद्रया, मूर्ख, सन्की, सज्जन आदि अनेक खालका शिष्य गुरूको सामुमा आइरहन्छन्, र तिनले वेला वेला गुरूलाई सताउने र दिग्भ्रमित पार्ने काम पनि गरिरहन्छन् तर सच्चा गुरू हार्दैनन् र सबैलाई अनेकानेक किसिम र शैली वा विधि अपनाएर युग अनुरुपको ज्ञान दिन्छन् ।

गुरूको काम र कर्तव्य पात्रलाई दास बनाउने प्रकृतिको हुनुहुन्न भन्ने कुराको बोध हमेसा गुरूमा पनि हुनु पर्दछ । गुरूलाई गुरू आफैमा एउटा पुल मात्र हुँ भन्ने चेतना सधैँ रहेको हुनै पर्दछ । पात्र सधैँ धाइरहोस्, गुरूको भक्ति गरिरहोस् । उसले आफ्नो ज्ञान, बुद्धि, विवेक, अनुभव, शिक्षा, आर्जित धन र श्रम म कहाँ निरन्तर वा सधैँ दिइरहोस् भनी ठान्ने गुरू वास्तविक गुरू होइनन् । पात्रलाई सधैँ आफ्नो भक्तिमा लगाउने, श्रममा जोताउने, पात्रले आर्जन गरेको धन दान वा चन्दा वा सहयोग लिने अर्थात् पात्रको ज्ञान, बुद्धि, विवेक, श्रम, धन आदि पात्रले आर्जन गरेको जुनसुकै धन आफ्नो लागि प्रयोग गर्ने गुरू त्यो चाहे जतिसुकै प्रख्यात, नामुद र ठूलो विद्वान्, ज्ञानी, सन्त, महात्मा नै किन नहोस्  ती सच्चा गुरू होइनन्  ती त बरू गुरूरुपी खोल ओढेका फ्याउरा हुन्  । 

वास्तविक र सच्चा गुरू त त्यो हो जसले पात्रभित्र छुपेको क्षमता र दक्षतालाई उजागार गरिदिएर पात्रलाई आफ्नो निजी भाव, पन, मत, अनुभव र आविष्कार आदिको प्रयोग गर्न खुला आकाशमा स्वतन्त्र छाडिदिन्छ वा एउटा पुल बनेर खोला तारिदिन्छ र त्यसैमा रमाउँछ ।